नेपालमा रोजगारीको अभावमा दैनिक २ हजार भन्दा बढी वैदेशिक रोजगारको लागि जाने गरेका छन् । उनीहरु जाने मध्ये एउटा देश हो मलेसिया । मलेसिया कुनै समय सबैभन्दा धेरै नेपाली जाने अनि धेरै नेपाली रहेको देश थियो ।
नेपालीहर जति धेरै भए समस्या पनि त्यति नै धेरै भए । तर नेपाली दूतावासले प्रभावकारी रुपमा काम गर्न नसक्दा दूतावास श्रमिकको भन्दा पनि म्यानपावरका दलाल र पहुँच पुग्नेहरुको मात्रै भएको छ भन्ने कुरा त भनिरहनु पर्दैन ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्ने मजस्ता लाखौं श्रमिकहरुले मलेसिया जानुभन्दा पहिले नेपालमा म्यानपावर व्यवसायीले देखाएको सपना अनि भने अनुसारको तलब नपाएपछि केही होला कि भनेर दूतावास पुग्छन् । तर उनीहरुले राजदूत र श्रम सहचारीबाट सोचे अनुसारको सहयोग पाउँदैनन् । नेपालमा भने बमोजिमको काम, तलब र सुविधा नपाएपछि विदेशको ठाउँमा आफ्नो संरक्षक अथवा घर सम्झिएर नेपाली राजदूतावासमा आफ्नो पीडा र दुःख सुनाउन आउँदा दूतावासका कर्मचारी केही थाहा नपाए जस्तो व्यावहार गर्दा रहेछन् ।
यहाँ दूतावासका कर्मचारीको नाम लेख्नु सान्दर्भिक हुन्छ कि हुँदैन अनि मिल्छ कि मिल्दैन थाहा छैन । तर पनि आफैं भोगेको पीडा भएकाले लेख्दै छु । रोजगारदाताले कम्पनीले हामीलाई समयमै तलब दिएन, बिरामी हुँदा मेडिकल नगरेको, काम मात्रै गराउने तलब नदिने अनि तलब माग्दा कुट्न खोजेको गुनासो लिएर राजदूतावासमा जाँदा श्रम सहचारी बाबुलाल रेग्मीले, तिमीहरु काम गर्न आएका हौ, काम गर्दै गर्नु भन्ने जवाफ दिएर पठाएको पठाउनुभयो । यसलाई के भनौं ।
कम्पनीमा जाउँ तलब दिँदैन, घर जाउँ भन्दा पैसा छैन । घर फर्किनलाई ट्राभल डकुमेन्ट दिलाइदिनु न त भन्दा दूतावासका रबि भट्ट सरले सबै भन्दा पहिले मलेसीयाको हरफासी कम्पनीमा ११८० रिंगिट बुझाएको रसिद लिएर आएपछि मात्रै दिन मिल्ने बताउनुभयो । अनि मलाई मलेसिया कम्पनीलाई मैले किन पैसा बुझाउने भन्ने लाग्यो । त्यसैले मैले नेपाली दूतावास नेपाल सरकारको कार्यालय हो कि स्थानीय दलालहरुको अफिस ? भनेर प्रश्न पनि गरें । त्यसमा उहाँको उत्तर थियो ‘धेरै कुरा गर्ने हैन, माथि ९ तलामा गएर कुरा गर्नु ।’
९ तलामा पुगेर प्रशासकीय अधिकृत प्रेमराज गौतम सरलाई भेटें । उहाँले पनि रिसाउँदै ‘हामीले हिजो नै सूचना प्रकाशित गरेका छौ, नेपाल जानलाई हरफासीको अफिसमा जानु’ भनेपछि म रनभुल्लमा परें । मैले दोस्रो पटक आग्रह गर्दा उहाँले एक वाक्यमा जवाफ दिनुभयो ‘तपाईंहरु डिसिएम सा’बकोमा जानुस् ।’त्यसपछि मलाई आफ्नो भाग्यलाई धिक्कार्न मन लाग्यो । घर जग्गा धितो राखेर ऋण गरेर आफ्नो पैसाले आफैंलाई बेचेर सात समुन्द्र पारी आयौं । अब आफ्नो ज्यानको सुरक्षाको लागि स्वदेश फर्किन पनि आफ्नो नेपाली दूतावासको कर्मचारीबाट पनि कुनै सहयोग भएन ।
एकैछिन एक जना व्यक्ति प्रेम सरको कोठामा पसे । प्रेम सरले उहाँ नै डिसिएम हो भन्दै सबै कुरा उनैलाई भन्न लगाउनुभयो । हामीले उनलाई पनि सबै कुरा सुनायौं । श्रम सहचारी बाबुलाल रेग्मीदेखि अधिृकत बिनोद मुखिया र प्रशासकीय अधिकृत प्रेमराज गौतमले भनेको रामायण हामीलाई सुनाए पश्चात हामीलाई न्याय दिन सक्ने ब्यक्तिहरुबाट कुनै न्याय नपाइने पक्का भयो ।
त्यसपछि स्वदेश फर्किने भन्दा दुतावासले पनि सहयोग गरेन । काम गरौं भनेपनि तलब नदिने भएकोले हामी अवैधानिक भएर हिडिरहेका छौं । त्यसैले सरकारसँग बिन्ती सहितको मेरो प्रश्न छ ‘सरकार हामी कतिन्जेल यसरी बेसाहारा भएर बाँच्नु ?’
