वल्र्ड मिस युनिभर्सिटी–२०१७ मा सहभागिता जनाउन शुभेच्छा खड्का :

शुुभेच्छा खड्का
वल्र्ड मिस युनिभर्सिटी–२०१७ मा सहभागिता जनाउन शुभेच्छा खड्का गत मंगलबार क्याम्बोडियातर्फ प्रस्थान गरेकी छिन् । आगामी डिसेम्बर २० मा कम्बोडियाको राजधानी नोमपेनस्थित को पिक थिएटरमा सञ्चालन हुने वल्र्ड मिस युनिभर्सिटी–२०१७ को ग्रान्ड फिनालेमा शुभेच्छाले विश्वका तीन दर्जनभन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्नेछिन् । 

मिस नेपाल इन्टरनेसनल–२०१२ की उपाधि विजेता शुभेच्छाले सोही वर्ष मिस इन्टरनेसनल–२०१२ मा नेपालका तर्फबाट सहभागिता जनाएकी थिइन् । कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत २४ वर्षीया शुभेच्छा हेल्प टू नीडी चिल्ड्ेरनकी सद्भावना दूत पनि हुन् । खड्काले म ब्रान्डको पानीका लागि मार्केटिङ तथा पब्लिक रिलेसन निर्देशकका रूपमा समेत काम गरिरहेकी छिन् ।
सन् १९८६ देखि आयोजना गर्न थालिएको वल्र्ड मिस युनिभर्सिटी दक्षिण कोरियामा प्रारम्भ भएको प्रतियोगिता हो । यो प्रतियोगितामा यसअघि आयुशा श्रेष्ठ, उषा रजक, आयुशा कार्की, प्रियंका पोखरेल तथा नगमा श्रेष्ठले सहभागिता जनाइसकेका छन्, जसमध्ये आयुशा श्रेष्ठले सन् २००३ मा वल्र्ड मिस युनिभर्सिटीको मुख्य उपाधि जितेर नेपालका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पहिलो मुख्य उपाधि हात पारेकी थिइन् । यसैगरी वल्र्ड मिस युनिभर्सिटी–२०१६ मा नगमा श्रेष्ठले थर्ड रनर्सअपको उपाधिसहित मिस फिटनेसको एवार्ड जितेकी थिइन् । - रोजिन शाक्य

तस्बिर : महेश प्रधान

पहिरन : कुसुम बुटिक, लाजिम्पाट

मेकअप : यानजिन तामाङ
लोकेसन :  पाटन दरवार स्क्वायर, ललितपुर