काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ।


कृष्णराज गौतम 

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ।

यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुबै गठबन्धनका उम्मेदवार तटस्थ मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो र चुनावी सभामा सक्रिय छन्।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर, प्रदेश क मा वसन्त मानन्धर र प्रदेश ख मा प्रकाश श्रेष्ठ छन्। लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि राप्रपाका केन्द्रीय सदस्य विक्रमबहादुर थापा चुनावी मैदानमा छन्। उनी महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमा पनि छन्। प्रदेशसभाका दुबै उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल छन्।

प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन्। कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उनका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि यस निर्वाचन क्षेत्रको चुनावी माहोलमा रौनकता थपिएको छ। सोही क्षेत्रमा विसं २०७० बाट निवार्चित भएका मानन्धर जनतामा भिजेका नेता हुन्।

उम्मेदवारहरुले मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने मात्र हैन खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ। काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ। यहाँ ५७ हजार ५८८ मतदाता रहेका छन।

ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले जनाइरहेका छन्। यहाँ यिनै भूकम्पपीडित जनता निर्णायक हुन सक्ने भएकाले नेताहरु उनीहरुको विश्वास जित्न लागिपरेका छन्। उम्मेदवारले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीय स्थल बनाउने लगायतका प्रतिवद्धता जनाइरहेका छन्।

निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि फर्केर नआउने उम्मेदवारको विकल्प खोज्न यहाँका मतदाता लागिपरेका छन्। स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा (एमाले) र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ।

महानगरपालिकाभित्र नेवार समुदायको बढी घनत्व रहेको छ। दुबैतर्फका उम्मेदवार जातीय मत आफूतिर तान्ने होडमा लागेको देखिन्छ। 

रासस