टन्टलापुर घाममा तालु सेकाई–सेकाई मनकामना दर्शनको कथा

High above Nepal, cable cars transport visitors to an ancient Hindu temple, the site of a shrine to the wish-fulfilling goddess Manakamana.
Add caption
एकपटक मनकामना दर्शन गर्ने ठूलो धोको छ ।’ वास्तवमा जन्मदै हिन्दू भएर जन्मिने नेपालीहरूको कमन डायलग हो यो । त्यही डायलगमा रहेको धोको पूरा गर्न सपरिवार हिँडियो मनकामना दर्शनार्थ । तिथि, मिति र बार त धर्म मुताबिक हेर्न परिगो । देवीको दर्शन गर्न शनिबार वाञ्छनीय हुन्छ र थप अष्टमी तिथि पनि परेकाले कात्तिक ११ गते पात्रो हेरेरै यात्राको शुभ मुहूर्त जुराइयो । हामी झिसमिसेमै हुइँकियौ रिजर्भ सुमोमा । कलङ्कीमा टिकट काटेर बिहान ८ बजे कुरिनटार पुग्दा करिब १५ सयको लाइन हामीलाई पर्खी बसेको थियो । निश्चय नै, शनिबार सबैको हो, अष्टमीमा देवीको पूजा गर्न अरू पनि आउँछन् । 

टन्टलापुर घाममा तालु सेकाई–सेकाई तलसम्म आउँदा अफूभन्दा लगत्तै अगाडि रहेको मानिस धेरै अगाडि पुग्दो रहेछ अनि आफूभन्दा लगत्तै पछाडि रहेको मानिस पनि धेरै पछाडि पुग्दो रहेछ । कारण, सोझा–सीधा मात्र बस्ने लामो लाइनमा भिजिलान्तेहरू सुटुक–सुटुक छिरिरहँदा रहेछन् । देवीको दर्शन पनि यस्तो पालो मिचिमिची त के गर्नु खै भनेर हाम्रो टोलीले भने इमानदारी प्रदर्शन गर्‍यो । दुई–चार घण्टा लाइन बसेर दर्शन गर्दा तीर्थको साख नै ओजनदार हुन्छ । केवलकार चढ्ने अभूतपूर्व मौका प्राप्त गर्न हामीलाई करिब २० ठाउँमा मर्काइएका लाइनमा पालो बस्दै पूरा गर्न ठ्याक्कै तीन घण्टा लाग्यो । 

केवलकारले बनाएको डम्म कान बिसेक हुन नपाउँदै मनकामना माईको पुण्यस्थलमा बाहिरैदेखि तरह–तरहका व्यापारीहरू सस्ता सुविधाका लागि महँगा मूल्य लिन बिहानैदेखि तैनाथ थिए । बाटै छेकेर ‘नरिवलसहितका फूलमाला ढक्कीसमेत लिएर जानुस् । फर्केर आउँदा ढक्कीसँगै पैसा दिए हुन्छ’ भन्दै स्किम फ्याँक्नेहरूको ओइरो नै लाग्यो । एउटा ढक्की हातमा समाइएन भने त माथिसम्म पुग्दा लछारपछारको चपेटामा परिने डरले गर्‍हुङ्गो ४ सयको हलुङ्गो ढक्की समाउन करै लाग्यो । फूल व्यापारी शान्त भए, तर फोटो व्यापारीले छाडेनन् । 

निधारमा ‘हामीले फोटो खिचिसक्यौँ ’ भनेर लेखिएको नातो बाँधेरै हिंडौंझैं लाग्यो । ‘अहिले खिच्नुस्, फर्कंदा लैजानुस्’ नारा धेरै सुनेपछि हाम्रो टोलीका वृद्ध सदस्य कराए— ‘यहाँसम्म आएर एउटा फोटो त खिच्नैपर्छ, बरु खिचिहालौँ ।’ मैले भनेँ— ‘मन्दिर नदेखिइ पनि फोटो खिच्छन् त ? यिनीहरूले महँगो पनि उत्तिकै लिन्छन् । क्यामेरा हुनेहरूले त माथि मन्दिरमै गएर भनेजस्तो फोटो खिच्ने हो अनि उतै लगेर सस्तोमा धुलाउने हो ।’ टोली चुप लाग्यो । मन्दिर पुग्दा त्यहाँ मन्दिर थिएन, केवल मन्दिर परिसरमात्र थियो । गोजीको ५ सय गोजीमै सरक्क सर्केझैँ भयो । 

निर्माणस्थलमा बाँसका अनगिन्ती खट र टेकाबाहेक केही थिएनन् । जस्ताको टाँडभित्र राखिएकी देवीको दर्शन गर्न अर्को भविलास्टको लाइन बस्नुपर्ने फसादमा हामी अल्झिएनौँ । नरिवल माला एक मगरका पवित्र हातमा सुम्पिएर माताजीलाई बाहिरैबाट नमस्कार गरी फूल–पर्साद लिई फर्कियौँ । त्यसपछि एउटा स्टुडियो पुगियो । सर्त राखियो– ‘माथि त रहेनछ, फोटोमा चाहिँ गजुर समेत आउनुपर्छ नि !’ ‘जुन ठाउँमा गए पनि एउटै फोटो राख्ने त हो । खिच्ने भए रेडी हुनुस् ।’‘हुन्छ, हामी रेडी हुन्छौं, स्टुडियोचाहिँ कताबाट जाने हो ?’ यहीँ खिच्ने हो, बाहिर लाइट पनि मिल्छ भन्दै सरर कालो पर्दा तानेर साथीले तुरुन्तै हिंड्ने बाटोलाई स्टुडियो बनाए र हातमा डिएसएलआर क्यामेरा लिएर पर्दा अगाडि बस्न सङ्केत गरे । 

 फोटो भनेपछि तेस्रो नेत्रसमेत खुल्ने महिलाजन नहतासिने कुरै भएन— ‘पोज त जहाँ दिए नि उस्तै हो, यसो क्रिम–स्रिम छैन ?’ साहूले मीठो हाँसो फुत्कायो– ‘भने जस्तो क्रिम पाउडर फोटोसपबाट हालाँैला, फर्मालिटीका लागि ऐना हेर्ने भए त्यहाँ छ । सब जिल खाँदै बाटोछेउको बाँसको पोलमा झुन्ड्याइएको ऐना हेर्न थप अर्को लाइन लाग्यौँ । चस्मा लगाएर फोटो खिच्नै दिएन, साथीलाई एडिट गर्न समय लाग्ने भएर होला । बाँकी टोली केवल कारको फर्किने लाइन कुर्न अघि बढे भने हामीले फोटो लिन थप दस मिनेट त्यतै अलमलिनुपर्ने भो । 

हामीले सल्लाह ओइर्‍याउन छोडेनौँ — ‘मनकामना दर्शन मिति २०७४ कात्तिक ११ लाई अलि सानो बनाऊ, पछाडिको केवल कारको साइज बढाऊ ।’ उसले केटाजतिलाई फेयर एन्ड हेन्डसम दलिदियो, केटीजतिलाई फेयर एन्ड लभ्ली । फ्रेममा हाल्दा फोटो लोभलाग्दो बन्यो । चिनेजानेजतिका घरमा जाँदा बैठक कोठामा ‘मनकामना माताको चिनो’ भनेर लेखिएको सिग्नेचर फोटो देख्दा साह्रै रोमान्चित भइने कुरा पनि पक्का भयो । अब हाम्रो घरको कुनै कुनामा त्यो फोटो झुन्ड्याउन पाइने खुसीले म आफैं पनि फुरुङ्ग थिएँ ।