बहु मत त आयो, आयो अब के गर्ने ॥॥॥॥।

देउवा दाइ र ओली काकाको बोली मलाई औधी मन पर्छ । यी दुई नेताको म प्राणप्रिय फलोअर । देउवा दाइले यो चुनावमा आफूले सजिलै बहुमत ल्याउने उद्घोष गरे भने ओली काकाले दुईतिहाइको ठोकुवा गरे । यी दुवैले हुन नसक्ने कुरा बोलेकै होइनन् । त्यसैले यसपालि लोक र वाम दुवै गठबन्धनको बहुमत पक्का छ । किनभने, मतपत्र नै बहु भएको यो चुनावमा एक मत मात्र खस्ने पक्कै होइन, खस्ने बहु मत नै हो । हार्ने र जित्ने दल हुन् वा साना र ठूला पार्टी, हरेकले पाउने बहु मत नै हो । त्यसैले देउवा दाइ र ओली काकाले बहु मत नै हासिल गर्छन् । अर्को तरिकाले पनि उनीहरुले बहु मत नै पाउने पक्का छ । अनि बुहारी अर्थात् बहुहरुले चुनावमा लाइनै लागेर लोक र वाम गठबन्धन दुवैलाई मत दिएका छन् । त्यसैले नेताद्वयलाई बहु मतका लागि बधाई ।