‘छाेरी मान्छेले गोरु नार्दा कसैले केही भन्ने हुन कि भन्ने लागेको थियो’| खोटाङकी उमाको कथा ! एक पटक पढ्नै पर्ने


‘छाेरी मान्छेले गोरु नार्दा कसैले केही भन्ने हुन कि भन्ने लागेको थियो’ खोटाङको दिक्तेल ८ कि उमा विक पहिलो दिन खेत जोत्न जाँदाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो ।उहाँलाई जोत्न अप्ठ्यारो लाग्नु स्वभाविक पनि थियो । किनभने गाउँमा त्यो भन्दा अघि कोही महिलाले पनि जोत्ने काम गरेका थिएनन । खेतीपातीमा पुरुषलाई सघाउने काम मात्रै महिलाले गर्थे ।उमाको पनि दुई वर्ष अघिसम्मको दैनिकी त यस्तै थियो । श्रीमानलाई खेतीपातीमा सघाउने । 

दुई जना दिनभरी जसो नै खेतमा खट्नुहुन्थ्यो तर आफ्नो जग्गाको उब्जनीले खान पुग्दैनथ्यो ।त्यसैले जग्गा साहुको बन्दकी राखेपछि त परिवार चलाउन पनि धौ धौ नै भएको थियो । यही समस्याले गर्दा उमाका श्रीमान् दुई वर्ष अघि रोजगारीका लागि साउदी अरब जानुभयो । श्रीमान् साउदी गएपछि उमाको जिम्मेवारी त थपियो नै अहिले उहाँको भूमिका फेरिएको छ । उहाँ अहिले हलो कोदालो सबै आफैं गर्नुहुन्छ । ‘श्रीमान हुँदा उहाँ अरुको अर्मपर्ममा जानुहुन्थ्यो अनि अरु पनि अर्मपर्ममा आउँथे तर उहाँ गएपछि त त्यो सबै बन्द भयो’ उमा भन्नुहुन्छ । 

श्रीमान् विदेश जाने वित्तिकै त उहाँसँग पैसा पनि थिएन खेताला लगाउन । पैसा नभएपछि खेताला आउन पनि पत्याएनन् । त्यसपछि उहाँले गोरु नार्ने आँट गर्नुभयो । श्रीमान् विदेश गएको डेढ वर्षसम्म उहाँलाई आँट आएको थिएन । तर आफू जस्तै परदेशीको परिवारले गर्ने काम, घर चलाउने तरिका सुनेपछि उहाँको कामको सोच अनि गराईको तरिका फेरिएको हो । ‘त्यो अवसर मैले वित्तीय साक्षरता कक्षाबाट पाएँ’ उमाले सुनाउनुभयो । सुरु सुरुका दिनमा वित्तीय साक्षरता कक्षामा जाँदा त्यहाँ भनिने कुरा उहाँलाई निक्कै सामान्य लाग्थ्यो ।

‘पैसा भएपछि कसले बचत गर्दैनथ्यो र अनि पैसा बचत गर्नुपर्छ, फारु गरेर चलाउनुपर्छ भन्ने कुरा सबैले जानेकै त हो नी जस्तो लाग्थ्यो ।’ उमाले भन्नुभयो । तर पछि थाहा पाउनुभयो यी सामान्य कुरा होइन रहेछन् । बचत त गर्ने तर कसरी भन्ने गाँठी कुरा चाहिँ उहाँले वित्तीय साक्षरता कक्षामा बसिसकेपछि थाहा पाउनुभयो । उमा अहिले २३ वर्षको मात्रै हुनुभयो तर ७ जनाको परिवार चलाउने जिम्मा अहिले उहाँकै काँधमा छ । तर पनि उहाँलाई त्यति धेरै ठूलो समस्या जस्तो लाग्दैन । ‘कमाएको पैसा बचाएपछि त्यही पैसाले चलिहाल्ने रहेछ नी ।’ उमाले सुनाउनुभयो । 

तर त्यसका लागि उहाँ अरुले देख्ने र भन्ने गरेको जस्तो धेरै पैसा बचत गर्नुहुन्न । उहाँले बचत गरेको त महिनाको ५ सय रुपैयाँ मात्रै हो तर पनि त्यसले ठूलो काम गरेको छ । अहिले त उहाँले साहुसँग बन्धकी राखेको जग्गा पनि उकासिसक्नु भएको छ । त्यसमा अहिले त खेती गर्दा हलीलाई दिने पैसा पनि बचत हुन्छ नी ’उमाले बचत गर्ने अर्को काइदा पनि सुनाउनुभयो । आफ्नो काम देखेर अहिले विदेशमा भएका श्रीमान् मात्रै होइन घरमा सासुससुरामा पनि खुसी छन भन्नुहुन्छ उमा । त्यति मात्रै होइन उहाँको काम देखेर गाउँलेहरु पनि दंग छन् ।कमला खतिवडा/खोटाङ । अमेरिका नेपाल