काठमाडौं, १० पुस । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी एकतापछि दुई पार्टीका अध्यक्षले पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सम्झौता नभएको बताएका छन् ।

गोरखा क्षेत्र नं. २ बाट पराजित श्रेष्ठ चुनावी नतिजापछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुन नहुने भन्नेबारे सैद्धान्तिक छलफल चाहिँ भएको बताए । ‘एकल नेतृत्व हुनु हुँदैन भनेर छलफल भएको हो, तर एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको होइन । छलफललाई सम्झौताको रुपमा बुझ्नु हुँदैन,’ उनले भने ।
जनताले निर्वाचनमा दिएको सन्देश वाम गठबन्धन एकतामा रुपान्तरण हुनुपर्छ भन्ने रहेको उनले बताए । ‘त्यसैले पार्टी एकताको घोषणा छिटोभन्दा छिटो गर्ने र एकीकृत पार्टी बन्ने प्रतिवद्धता हाम्रो छ’ श्रेष्ठले भने, ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकता हुन्छ। किनभने, एकीकृत पार्टीले सरकार संचालन गर्नु सबैभन्दा राम्रो हुन्छ। तर सरकार गठनको संवैधानिक र कानूनी प्रक्रिया पूरा भैसक्दा पनि पार्टी एकताको घोषणाको बिन्दूसम्म पुगिएन भने सरकार गठन गर्न रोक्नु हुँदैन।’
उनले गोरखा २ को जनताको चयनमा यसपटक आफू नपरेको पनि स्विकार गरे । उनले वामपन्थी गठबन्धनलाई मतदान गर्ने मतदातालाई धन्यवाद पनि दिए । श्रेष्ठ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका हुन् । आफूले चुनाव हारेपनि ‘समृद्ध गोरखा र खुसी गोरखाली’ अभियान जारी रहने प्रतिवद्धता जनाए । उनले गोरखा २ मा पराजित हुनुको कारणबारे समीक्षा भइरहेको पनि बतए ।