रोचक बन्दै बर्दियाको मतपरिणाम, ४ हजार मतले पछि परेका बामदेवले स्वात्तै घटाए मतान्तर


बर्दिया, २४ मंसिर । धेरैजसो पार्टीका शीर्ष नेताको हारजितको टुंगो लागिसक्दा पनि बर्दिया १ मा भने चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शनिबार साँझसम्म अग्रता लिएपनि शनिबार रातीदेखि बामदेव गौतम कांग्रेसका सञ्जय गौतमभन्दा पछि पर्नुभएको छ। 

 आइतबार बिहानसम्म बामदेव गौतम ४ हजार मतले पछि हुनुहुन्थ्यो अहिले भने उहाँ १६ सय मतले पछि हुनुुहुन्छ। अब झण्डै ५ हजार मत गन्न बाँकी रहेको अवस्थामा गौतम १६ सय मतले पछि परेपछि मतगणनास्थल जिल्ला समन्वय समितिको हल बाहिरबसेका कार्यकर्ता निराश छन्। केही कार्यकर्ता खाना पनि नखाई मतपरिणाम सुन्न बसेका छन्। केही कार्यकर्ताले चाहीँ मतपरिणामको नतिजाले ढुकढुकी बढाएको भन्दै खाना नरुचेको बताएका छन्।